अख्तियारद्वारा मीनबहादुर विष्टको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले विशेष आदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मीनबहादुर विष्टमाथि झुट्टा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले विष्टविरुद्ध दुई लाख ३४ हजार रुपियाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार असोज ८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।