अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध 

 ढोरपाटन - केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए ।

वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौं, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् ।