राजश्व हिनामिनादेखि कीर्ते प्रकरण जोडिएको वडा सचिव जोगाउन नेताहरुको दौडधूप

राजश्व हिनामिना र कीर्तेमा जोडिएका एक भ्रष्ट कर्मचारीलाई जोगाउन रसुवा जिल्ला एमालेका नेताहरु नै लागिरहेको छ । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी तमाङलाई बचाउन जिल्लाकै एमालेका उपल्ला तहका नेताहरु नै लागिपरेको आरोप जनप्रतिनिधिहरुबाटै लाग्न थालेको हो ।


नक्कली भौचर बनाएर सरकारी राजश्व अपचलन गरी व्यक्तिगत खातामा दाखिला गराउँदै आएका वडा सचिवको बदमासी थाहा पाएर जनप्रतिनिधि उजुरी बोकेर जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मै पुगेको महिना दिन पुग्न लाग्यो तर त्यस्ता भ्रष्ट कर्मचारीलाई जोगाउनका लागि जिल्लाकै एमालेका नेताहरु नै लागिपरेका हुन ।


यस्तो धन्दामा संग्लग्न वाङ्दी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा सचिव हुन । उनले पछिल्लो महिनामै मात्र नक्कली रसिद काटेर २ लाख ६४ हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाण बोकेर वडा अध्यक्ष कामी छिरिङ तमाङ सिडियोसम्म पुगेका छन् तर कारवाही प्रक्रिया अघि बढेको छैन ।


गत भदौं २६ मा सचिवले राजश्व हिनामिना गरेको प्रमाणसहित उजुरी बोकेर अध्यक्ष सिडियो कार्यालयमा पुगे । उनले विभिन्न सेवाग्राहीमार्फत जम्मा भएको राजश्वमा नक्कली रसिद दिँदै उनले उक्त रकम आफ्नो खातामा जम्मा गर्ने गरेका आरोप वडा अध्यक्षको छ ।

महिनामै लाखौं रकम नक्कली बिल र भौचरमार्फत आफ्नै व्यक्तिगत खातामा दाखिला गर्ने तर त्यसबापतको राजस्व राज्यकोषमा दाखिला नगर्ने गरेको भेटिएसँगै वडा अध्यक्ष उजुरी बोकेर जिल्ला प्रशासन कार्यालयदेखि प्रहरी प्रशासनसम्म पुगेका छन् तर राजश्वमारा कर्मचारीलाई जोगाउन नेताहरु नै लागिपरेका छन् ।


यस्तै सोही दिन अध्यक्ष तमाङले प्रहरीमा समेत उनीविरुद्ध कीर्तेको उजुरी दिएका छन् । गत साउन २४ गते (चलानी नम्बर ३९१) आफ्नो नाममा दर्ता श्रेष्ता भएको रसुवा जिल्ला टिमुरे वडा नम्बर ८ र किता नम्बर १२९ को क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा अध्यक्षको कीर्ते हस्ताक्षर गरी मालपोतमा सिफारिस गरेको भेटिएसँगै उनीविरुद्ध कीर्तेको उजुरी समेत जिल्ला प्रहरी कार्यालय,रसुवामा उजुरी दिएको भए पनि कुनै कारवाही नभएको गुनासो पोख्छन् वडा अध्यक्ष तमाङ । राजश्व हिनामिना र कीर्ते मुद्धामा डामिएसँगै वडा सचिव दुई साता अघि नै वडाबाट पालिकामा तानिएका थिए ।

लामो समयसम्म सम्पर्क विहिन रहेका उनी प्रकरण फितलो बनाएर जोगाउने तयारी भएसँगै कार्यालयमा हाजिर हुने भएका छन् । दुई साता अघि वडाबाट पालिकामा तानिएका सचिव मंगलबारबाटै कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले जानकारी दिएका छन् ।


रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार,यो घटनाको छानबिनका साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति बनेको र समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने प्रतिक्रिया दिए । बाङ्दी विगत दुई दशकदेखि सोही वडाका सचिवका हैसियतमा कार्यरत छन् । गोसाइकुण्ड गाउँपालिका टिमुरेका स्थानीय बासी हुन उनी ।

यस्ता भ्रष्ट कर्मचारीलाई जोगाउन अहिले रसुवा एमालेका एकाथरी नेताहरुलाई भ्याइ नभ्याइ छ । प्रशासनदेखि प्रहरी अधिकारीसम्मलाई यो प्रकरण फितलो पार्न दबाब दिइरहेको स्रोतले जनाएको छ ।

अहिले यो केश सल्टाएर वडा सचिवलाई उन्मुक्ति दिलाउनका लागि अनुनय विनय गर्दै हरेक दिनजसो वडा अध्यक्षलाई समेत दबाब दिने क्रम बढेको बताइएको छ ।