गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिलकुमार सिंह दोषी ठहर

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ । खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मीना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो । कार्कीलाई मतियारका रुपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोक्न पनि आदेश भएको छ ।

सिंह सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३(१)(क) बमोजिमको कार्यमा दोषी पाइएका हुन्। उक्त दफामा सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने कार्य गर्न गराउन नहुने उल्लेख छ। 

सिंहले आफ्नी श्रीमती कार्कीका नाममा अपराधबाट आर्जित सम्पत्ति लुकाएको र त्यसको गैरकानुनी स्रोत लुकाउन घरजग्गा बिक्री गरेको देखिएको विशेषको ठहर छ। सिंहले उक्त सम्पत्ति अपहरण तथा शरीर बन्धकसमेतका कसुरबाट आर्जन गरेको निष्कर्षमा इजलास पुगेको हो। 

भारतको उत्तर प्रदेश देवरिया थाना घर भएका सिंहले झुठा व्यहोरा पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीसमेत लिएका थिए। उनीमाथि संगठित रूपमा अपहरण तथा शरीर बन्धक र अवैध हातहतियारको मुद्दासमेत चलेको थियो। उनीमाथि यी कसुर ठहर हुने गरी यसअघि नै फैसला भइसकेको छ। 

सिंह र कार्की दम्पतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा १८ वटा खाताहरू भेटिएका थिए। साथै झापा, सुनसरी र भक्तपुरमा विभिन्न स्थानमा उनीहरूको नाममा जग्गा भेटिएको थियो। सिंहले गैरकानुनी कार्यबाट आर्जन गरेको सम्पत्ति हो भन्ने जान्दाजान्दै कार्कीले उक्त सम्पत्ति लुकाउने एवं छल्ने गरेको आरोप लगाइएको थियो। 

सिंहले सबैजसो कारोबार श्रीमतीका नामबाट गर्थे। विभागले कार्कीका नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने मागसहित अभियोगपत्र दर्ता गराएको थियो। अनुसन्धानपछि ४ फागुन २०७९ मा सिंहमाथि कुल एक करोड ६० लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर भएको थियो। 

यसैमा उनकी श्रीमती मतियार ठहर भएकी हुन्। कार्कीको हकमा विशेषले ‘दाबीको सम्बद्ध कसुर गरेको नदेखिएको, तर प्रतिवादी सुनीलकुमार सिंहको कसुरमा सहयोग गरेको’ निष्कर्ष निकालेको छ। 

उनलाई ऐनको दफा ३(२) को कसुर गरेको फैसलामा छ। उक्त दफामा सम्पत्ति शुद्धीकरणसम्बद्ध कुनै कार्यको षड्यन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता जनाउन वा मतियार हुन नहुने व्यवस्था छ। कार्कीले भने उक्त कसुर गरेको भन्दै दोषी ठहर गरेको हो।