प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठन हुनुपर्ने विषय उठाएसँगै नयाँ बजेट प्रभावित हुने देखिएको छ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।
सङ्घ सरकारले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर संसद निरन्तर अवरोध हुने अवस्थामा बजेट पेश गर्ने प्रक्रियालाई प्रभावित पार्न सक्ने देखिन्छ । हिजोको संसद बैठक आज बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित भयो । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेपनि सहमति जुट्न सकेको छैन । सहमतिका लागि आज पनि छलफलको तयारी छ ।
सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई मन्त्रीसँग जोडेर सदन अवरुद्ध पार्ने गलत नजिर बसाल्न खोजिएको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्ने कार्यसूची छ ।