भेरीका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिल साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापा रहेका छन् ।

यस्तै, अख्तियारले न्यू बीके/नहकुली जेभी तथा यसका साझेदारहरू न्यू बीके बिल्डर्स एन्ड सप्लायर्सका प्रोप्राइटर गंगाकुमार खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्रबहादुर बोहराविरुद्ध पनि मुद्दा दायर गरेको छ । भेरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीतको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।