काठमाण्डौ उपत्यकाका विभिन्न बस्ती र सडक जलमग्न

हिजोदेखिको लगातार वर्षाले काठमाण्डौ उपत्यकाका बिभिन्न बस्ती र सडक जलमग्न भएका छन् । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरा लगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ ।

ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ । नक्खु खोला र बागमती खोलाको दोभानमा पनि केही घर डुबानमा परेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा डुबान तथा बाढीको उच्च जोखिम रहेको भन्दै आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । यस्तै विभिन्न ठाउँका सडक पनि जलमग्न भएका छन् । पानीको उचित निकास नहुँदा कतिपय सडक खोला र पोखरीजस्ता भएका छन् । जलमग्न सडकमा गाडी चलाउन र हिँडडुल गर्न पनि समस्या भएको छ ।