प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ - परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि आईटी क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोधसमेत गरेको छ ।

यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको मन्त्रालयले बताएको छ ।