मुगुको खाद्य डिपो रित्तिए : तत्काल चामल ढुवानी नहुने, सर्वसाधारणलाई समस्या

काठमाण्डौँ - मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् ।

गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गत आवको स्वीकृत कोटाअन्तर्गत करिब छ सय क्विन्टल चामल जगेडा रहेको क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । 

नयाँ ठेक्का टेण्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताए । यो चालु आवको चामल ढुवानीको लागि ठेक्का टेण्डर स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उनको भनाइ छ ।

गोदाममा चामल हुँदा उपभोक्ताको भीड लाग्ने डिपो हिजोआज सुनसान देखिन थालेका छन् । साउनदेखि भदौ महिनासम्म जिल्लाभरका खाद्य डिपोका गोदाम खाली हुने गरेका छन् । खाद्य डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारीको महँगो चामल किनेर खाद्य बाध्य भएका छन् ।  रासस