काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा केही दिन जारी रहने 

काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुईरतीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् । उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झण्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुदाँ पछिल्लो एकसाता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।