धादिङको झ्याप्ले खोलामा ३ वटा गाडीमा ३५ जनाको शव भेटियाे

धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा बसबाट अहिलेसम्म ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसमा आठ जनाको शव र अर्को माइक्रोबसमा १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज आठ जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ । यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । त्यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

हिजो शव निकालेकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेको खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुरेको शङ्कामा खोजी भइरहेको छ ।