अमेरिकामा यात्रु बोकेको विमान हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको सङ्घीय उड्डयन प्रशासनलाई उदधृत गर्दै बीबीसीले जनाएको छ ।
घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ । विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको हो । अमेरिकन एअरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य रहेको खबरमा उल्लेख छ । हेलिकोप्टरमा भएका यात्रु र चालक दलका सदस्यबारे खुलाइएको छैन ।
नेपाली समयअनुसार आज बिहान वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ थुप्रै एम्बुलेन्स र दमकल परिचालन भएका खबरमा उल्लेख छ । दुर्घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मलाई रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाको पूर्ण जानकारी दिइएको छ। भगवानले उनीहरूको (मृत्यु भएका) आत्मालाई शान्ति प्रदान गरून्। पहिलो प्रतिक्रिया दिनेहरूलाई धन्यवाद। स्थितिको अनुगमन गरिरहेको छु।’ ५३४२ विमान कन्सासबाट उडेको थियो र अवतरणका लागि आउँदै गर्दा दुर्घटना भएको हो। सैन्य हेलिकप्टर प्रशिक्षण उडानमा भएको पाइएको छ।