अन्तिममा बढेर बन्द भयो नेप्से, अब कहिले होला ट्रेन्ड परिवर्तन ?

सेयर बजार सोमबार झिनो सुधार भएको छ । अन्तिममा आएर नेप्से सूचकमा सामान्य वृद्धि देखिएको हो । आज नेप्से सूचक ३.०४ विन्दुले बढेर  १८७८.७० अंकमा आएको छ । सूचक हरियो बने पनि कारोबार रकम भने सुस्त नै देखिएको छ । करिब ६९ करोड ४२ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यस दिन १३ मध्ये १० वटा समूह हरियो बनेको छ ।  

 दसैंपछि आइतबारदेखि सेयर बजार खुला भएको हो । विदापछि खुलेको पहिलो दिनमै बजार घटेको थियो । तर सोमबार कारोबारको अधिकांश समय घटेको नेप्से बन्द हुने बेलामा भने हरियो बन्न सफल भएको हो । झिनो अंकले भए पनि सूचक बढेपछि लगानीकर्ता केही आशावादी बनेका छन् । लामो समयसम्म बजार निरन्तर घटेकाले जुनसुकै बेला पनि नेप्सेको ट्रेन्ड परिवर्तन हुन सक्ने सम्भवना पनि देखिन्छ । यद्यपि, एक–दुई दिनकै कारोबारबाट ठोकुवा गरिहाल्न भने सकिंदैन । 

यसअघि सेयर बजारको मुख्य सिजनमा पनि आम लगानीकर्ताको मनोबल कमजोर देखिंदै आएको छ । धेरैजसो लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजारमा लामो समयदेखि क्रेता पक्ष कमजोर रहँदै आएको छ । यसको तुलनामा बिक्रेता पक्ष हावी हुँदा बजार दबाबमा परेको अनुमान गरिएको छ । 

नीतिगत बाधाहरु विस्तारै खुकुलो पारिंदै गए पनि बजारले अहिलेसम्म त्यसको सकारात्मक संकेत दिन सकेको छैन । लामो समयदेखि बजार वियरिस प्रवृत्तिमा छ । यही कारण पनि माथि जानका लागि समय लागेको अनुमान गरिएको छ । 

बजार करिब २७ महिनादेखि घट्दोक्रममा रहेको छ । यही कारण आम लगानीकर्तामा अब पुनः तत्काल बजारले गति लिन्छ भन्ने विश्वास कम देखिएको हो । यसैकारण थोरै भाउ बढ्ने बित्तिकै बेच्नेहरु हावी हुने गरेका छन् । तर घटेको मूल्यमा कुनै पनि बेला क्रेताहरु हावी हुने अनुमान गर्न सकिन्छ । किन भने यतिबेला बजारमा सेयर मूल्य निकै सस्तो भइसकेको अवस्था छ । 

लाभांशको सिजन चलिरहेको छ । कतिपय कम्पनीले दसैंअघि नै लाभांश घोषणा गरेर साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । कतिपयले अझै लाभांश प्रस्ताव गर्नै बाँकी छ । यसकारण अहिले सेयरधनी रहनेहरुले तत्कालै लाभांश हात पार्न सक्ने अवस्था छ । यति हुँदा पनि बजारले भने अझै सकारात्मक बाटो तय गर्न सकेको छैन । 

यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण पनि अब धमाधम आउन थाल्नेछ । दसै सकिएकाले अब धमाधम वित्तीय विवरणहरु सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ । प्रथम त्रैमासमा समग्रमा सूचीकृत कम्पनीहरुको रिपोर्ट कस्तो आउँछ भन्ने चासो छ । वित्तीय विवरणहरुमा नाफा बढेको देखिएमा त्यसले बजारलाई सकारात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । 

नीतिगत सुधारहरु हुन थालेको छ । केन्द्रीय बैंक पनि क्रमशः लचक हुँदै गएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरिसकेको छ । यता, बैंक ब्याजदर पनि सस्तो हुँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज भइरहेको छ । लाभांशको सिजन पनि चलिरहेको छ । 

यी सकारात्मक पक्षहरुका कारण केही करेक्सनहरका बाबजुत बजारले सकारात्मक गति लिन सक्ने कतिपयले आँकलन गरेका छन् । तर कतिपय जानकारहरुले भने बजार अघि बढ्नका लागि सेयर धितो कर्जाको जोखिमभार घटाउनैपर्ने बताइरहेका छन् । जोखिमभार नघटेसम्म बजारले अपेक्षा अनुसार गति लिन नसक्ने उनीहरुको तर्क छ । 

समग्रमा हेर्दा लामो समयदेखि बजार घटिरहेको छ । पछिल्लो ट्रेन्डलाई आधार मान्दा पनि साउन पहिलो सातादेखि नै बजार लगातारजसो घटेको हो । विशेषगरी, मौद्रिक नीति जारी भएपछि बजार तीब्र गतिमा नकारात्मक प्रतिक्रिया जनायो । 

बजारले समग्रमा बियरिस ट्रेन्ड समातेको भने करिब २७ महिना हुन लागेको छ । यसअघि करिब ३२ सय पुगेको बजारलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले नीतिगत कडाई गरेको थियो । त्यसपछि बजारको ओरालो यात्रा सुरु भएको हो । तर अहिलेसम पनि त्यतिबेला कसिएका नीतिहरु पूर्ववत् अवस्थामा फर्काइएको छैन । 

नीतिगत अवरोध र चर्को ब्याजदरले थला परेको बजार तत्काल माथि जानका लागि यसअघि कसिएका सबै नीतिहरु पुनः पहिलाकै अवस्थामा फर्काउनुपर्ने हुन्छ ।

यस दिन २८७ कम्पनीको २८ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६० लाख रुपैयाँसहित कारोबार रकममा साधना लघुवित्तको संस्थापक सेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र सिद्धार्थ बैंकको संस्थापक सेयर परेका छन् ।