नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट आज आदेश आउन सक्ने

नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्धामा उच्च अदालत पाटनले थुनछेक विषयमा आज आदेश दिँदै छ । जवाफी बहस सुनेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ । 

पुनरावेदनका रोहमा काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै विभिन्न मितिमा गरी पाटनमा २१ वटा निवेदन विचाराधीन छन् । जसमाथि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ हुँदै छ । यस इजलासले ५ मंसिरदेखि नै यो निवेदनलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको छ ।

निवेदकको बहस सकिएपछि सरकारी वकिलले मंगलबार र बुधबार गरी दुई दिन बहस गरेका हुन् । बिहीबार निवेदक पक्षले जवाफी बहस सकाएमा आदेश आउन सक्ने सम्भावना रहेको एक सरकारी वकिलले बताए । २३ कात्तिकमा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले मुद्दाको पेसी मिति ५ मंसिरका लागि तोकेको थियो । 

जिल्ला अदालत काठमाडौंले हालसम्म यस मुद्दाका तीन प्रतिवादीलाई धरौटीमा र बाँकीलाई थुनामै रही मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश गरिसकेको छ । जसविरुद्ध पक्षहरू उच्च अदालत पाटन पुगेका हुन् । यस विषयमा विभिन्न मितिमा पक्षहरूले जिल्ला अदालतको आदेश बदरका लागि निवेदन दिएका छन् । 

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने लोभ देखाएर करोडौँको ठगी गरेको भन्दै सरकारी वकिलको कार्यालयले यसै वर्ष १० जेठमा ३० जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । उनीहरूमाथि ठगी, संगठित अपराध, लिखत किर्ते र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता भएको छ ।

यस प्रकरणमा सबै प्रतिवादीहरूमाथि गरी कुल २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यस मुद्दामा थुनछेक सुनुवाइ गर्दै १ असारमा फैसला दिएका थिए ।