टी-२० विश्वकप छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितसँगै नेपाल सेमिफाइनलमा

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।

दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए । रोहित पौडेल २ रनमा आउट भए । मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

तर मलेसियाको सुरुवात भने नेपालविरुद्ध ड्रिम थियो । ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो ।

तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए । त्यो जीवनदान नेपाललाई त्यति धेरै भारी परेन ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए ।

फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए । नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । विजेता टोलीले समूह बी को उपविजेता र उपविजेता टोलीले समूह बीको विजेतासँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुबै खेलमा हारका अंक विहीन हुँदै पुछारमा छ