आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया भिड्दै

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज (मंगलबार) मलेसिया सँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले आजको खेल बाहेक अब  कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा विश्वकपमा छनोट हुनेछन् ।